टीआर भण्डारीको नेतृत्वमा होटल व्यवसायी महासंघको नयाँ कार्यसमिति निर्विरोध चयन

होटल व्यवसायी महासंघ नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न महासंघको ५औं अधिवेशनले व्यवसायी टीआर भण्डारी (शंकर)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् भने संगठन उपाध्यक्षमा वीरमन्जन बटाला, प्रशासन उपाध्यक्षमा ज्ञानबहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कलमबहादुर बम, उद्योग/मेला महोत्सव उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा सुनिता पन्त पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महासंघको अतिरिक्त ५ उपाध्यक्षहरूमा मोदनाथ बेल्बासे, धनादेवी चोखाल, जनकबहादुर सिंह, खिम कुमार सुवेदी र शैलेस कार्की चयन भएका छन् । महासंघको महासचिवमा राजेश मलहोत्रा निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

उप–महासचिवमा मित्र प्रसाद ढकाल, पर्यटन सचिवमा भरतकुमार भट्टराई, प्रशासन सचिवमा रमेशकुमार बराल, मेला महोत्सव सचिवमा सन्तोष कुमार थापा क्षेत्री र अतिरिक्त ६ सचिवमा लालबहादुर केसी, नेत्रलाल वली, भिविन्द्र प्रसाद न्यौपाने, रचेन्द्र सिंह थापा, उमा ग्रान्डन र निलेश राज भण्डारी निर्विरोध चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी चयन भएका छन् । महासंघको केन्द्रीय संस्थामा ४७ जना र लेखा समितिमा ४ जना सदस्य पनि निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए ।