होटल व्यवसायी महासंघ नेपाल व्यवसायीको हकहितमा सक्रिय : अध्यक्ष भण्डारी

होटल व्यवसायी महासंघ नेपालले देशभरका होटल तथा पर्यटन व्यवसायीको हकहित, व्यवसाय प्रवद्र्धन तथा व्यवसायीका समस्या समाधानका लागि निरन्तर सक्रिय हुँदै आएको जनाएको छ।

बालाजु होटल व्यवसायी संघको २०औँ वार्षिक साधारण सभाका अवसरमा महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर)ले होटल व्यवसायीबीचको एकता, सहकार्य र संस्थागत समन्वयलाई प्राथमिकतामा राखेर महासंघ अघि बढिरहेको बताउनुभयो।

काठमाडौंको संगम बाटिका पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले बालाजु होटल व्यवसायी संघलाई महासंघसँगै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले होटल व्यवसायीका साझा समस्या समाधान, व्यवसायको प्रवद्र्धन तथा व्यवसायीको हकहित संरक्षणका लागि महासंघ निरन्तर सक्रिय रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटन क्षेत्र मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले होटल व्यवसायको विकास तथा पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग र नीतिगत निर्णय गर्न आफू तयार रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले स्थानीय होटल तथा पर्यटन व्यवसायीका समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, बालाजु प्रहरी वृत्तका प्रमुखले होटल तथा पर्यटन व्यवसायमा शान्ति–सुरक्षाको विषय महत्वपूर्ण रहेको बताउँदै व्यवसायीलाई आवश्यक सुरक्षा सहयोगका लागि प्रहरी तयार रहेको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूलाई प्रचलित कानून र मर्यादाभित्र रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।

बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खातीले व्यवसायीबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै संस्थागत गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा संघका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार टीका बहादुर रायमाझी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका कार्यवाहक अध्यक्ष भवेश्वर दुबेलगायत होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधि, स्थानीय प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।


सभाको बन्दसत्र संघका सचिव तिलक श्रीपालीले सञ्चालन गर्नुभएको थियो। बन्दसत्रमा महासचिव लेखनाथ खरालले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष गंगा बहादुर खातीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको समापन संघका प्रथम उपाध्यक्ष नरिश्वर गौतमले गर्नुभएको थियो। साधारण सभामार्फत होटल व्यवसायीबीचको सहकार्य, संस्थागत एकता तथा पर्यटन व्यवसायको प्रवद्र्धनका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।