होटल व्यवसायी संघ कैलालीको ३४औं वार्षिक साधारण सभा तथा ९औं जिल्ला अधिवेशन सम्पन्न

कैलाली, बैशाख १२ — होटल व्यवसायी संघ कैलालीको ३४औं वार्षिक साधारण सभा तथा ९औं जिल्ला अधिवेशन भव्य तथा अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल (HPFN) का अध्यक्ष टी. आर. भण्डारी (शंकर) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रम निर्धारित समयमै सुरु भई समयमै सम्पन्न हुनु, उत्कृष्ट व्यवस्थापन, अनुशासन र पेशागत दक्षताको उदाहरणका रूपमा देखिएको थियो। कार्यक्रममा जिल्लाभरिका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै निजी तथा सरकारी क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

उक्त अधिवेशनबाट श्री केशव दत्त पाण्डेय पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा श्री अबेश कुमार चन्द, उपाध्यक्षमा श्री भिम बहादुर शाही, महासचिवमा श्री प्रजापति जोशी (प्रकाश), सचिवमा श्री राकेश भट्ट, कोषाध्यक्षमा श्री भगत बहादुर थापा तथा सह-कोषाध्यक्षमा श्री बसन्ता भण्डारी बम निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरूमा श्री केश बहादुर बोहरा, श्री केशव चन्द, श्री शोमराज सापकोटा, श्री राधिका लम्साल लगायत १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष भण्डारीले व्यवसायिक एकता, संस्थागत सुदृढीकरण तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।