होटल व्यवसायी महासंघ, नेपाल (HPFN) का अध्यक्षज्यू, बागमती प्रदेश अध्यक्ष दामोदर नेपालसहितको टोलीले फ्ल्यास फ्लड (अप्रत्याशित बाढी)बाट प्रभावित रसुवाका होटल व्यवसायी तथा व्यवसायी प्रतिनिधिहरूसँग भेटघाट गरी तत्कालीन राहत तथा दीर्घकालीन पुनर्स्थापनाका विषयमा गम्भीर छलफल गरेको छ।
बाढीका कारण होटल तथा पर्यटन व्यवसायमा ठूलो क्षति पुगेका व्यवसायीहरूको वास्तविक अवस्था बुझ्न महासंघको टोली प्रभावित व्यवसायीहरू आश्रय लिइरहेको स्थलमै पुगेको थियो। सो क्रममा प्रभावित व्यवसायीहरूको वर्तमान अवस्था, तत्काल आवश्यक सहयोग तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पर्ने दीर्घकालीन सहयोगका विषयमा विस्तृत छलफल गरिएको हो।
छलफलमा बाढीपीडित होटल व्यवसायीहरूलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउनेसँगै उनीहरूलाई दीर्घकालीन रूपमा पुनः व्यवसायमा फर्काउन सकिने उपायहरूबारे विशेष रूपमा छलफल गरिएको थियो। क्षतिग्रस्त होटल तथा व्यवसायको पुनर्निर्माण, आर्थिक सहयोग, आवश्यक समन्वय तथा सम्बन्धित सरकारी निकायसँग पहल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
महासंघले विपद्का कारण व्यवसाय र रोजगारी गुमाउने अवस्थामा पुगेका होटल व्यवसायीहरूलाई पुनः व्यवसायमा फर्काउन आवश्यक पहल, सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित व्यवसायीहरूको समस्या समाधानका लागि सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको छ।
महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले प्रभावित व्यवसायीहरूको पीडा र समस्यालाई नजिकबाट बुझ्दै विपद्पछिको पुनर्स्थापनामा महासंघको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त छलफलमा होटल व्यवसायी महासंघ, नेपालका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, बागमती प्रदेशका प्रतिनिधि तथा रसुवाका प्रभावित होटल व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
महासंघले विपद्को यस कठिन परिस्थितिमा प्रभावित होटल व्यवसायीहरूको साथमा रहँदै तत्कालीन राहतदेखि दीर्घकालीन व्यवसाय पुनर्स्थापनासम्म आवश्यक सहयोग र पहललाई निरन्तरता दिने जनाएको छ।