होटल व्यवसायी महासंघ नेपाल (HPFN) का अध्यक्ष टी. आर. भण्डारी (शंकर) को नेतृत्वमा महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
बागमती प्रदेशका अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका पदाधिकारी तथा महासंघमा आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूसहितको टोली नुवाकोट पुगेको थियो।
स्थलगत भ्रमणका क्रममा नुवाकोटका प्रभावित होटल तथा व्यवसायीहरूको अवस्था, बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक सहयोगका विषयमा प्रत्यक्ष जानकारी लिइएको छ। साथै, रसुवा र धादिङ क्षेत्रका प्रभावित व्यवसायी तथा स्थानीयहरूको अवस्थाबारे समेत आवश्यक जानकारी लिइएको थियो।
चार दिनअघि आएको विनाशकारी बाढीबाट होटल व्यवसाय, रोजगारी तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर परेको स्थलगत अनुगमनका क्रममा पाइएको छ।
प्रभावित व्यवसायीहरूको पुनर्स्थापना, पुनर्निर्माण तथा व्यवसाय पुनः सञ्चालनका लागि होटल व्यवसायी महासंघ नेपाल तथा देशभरका आबद्ध संघ–संस्थाहरू एकताबद्ध भएर आवश्यक सहयोग र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन | तस्बिरहरू हेर्न क्लिक गर्नुहोस् 📸