नागरिक सुनुवाई कार्यक्रममा सहभागिता

“आजको आवश्यकता, सामूहिक सहभागिता” भन्ने नाराका साथ नेपाल प्रहरी र सामुदायिक सेवा समितिद्वारा काठमाण्डौको नयाँ बसपार्क स्थित बी.जी. ब्याङ्‍केट, गंगबुमा मिति २०८० बैशाख २८ गते वृहत नागरिक सुनुवाई कार्यक्रम आयोजना गरियो । सामुदायिक सेवा समितिका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा महानगरिय प्रहरी परिसर टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाल, विशिष्ठ अतिथि महाराजगंज प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक अंगुर जिसी हुनुहुन्थ्यो भने अतिथिहरुमा टोखा नगरपालिका ९ नम्बर वडाध्यक्ष रामभक्त घिमिरे, होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा बुद्धिजिवी शेर बहादुर थापा, जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका उपाध्यक्ष जितेन्द्र गिरी, काठमाण्डौ होटल व्यवसायी महासंघका अध्यक्ष ध्रुव कार्की, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, टोखा न.पा. वडा नं.९ र २६ का महिला व्यवसायीहरु, विभिन्न टोल सुधार समितिका अध्यक्ष/प्रतिनिधि लगायत गंगबु बसपार्क वरिपरिका होटल, गेष्ट हाउस, रेष्टुरेन्ट, दोहोरी क्लब, ब्याङ्‍केट आदिबाट व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले बसपार्क वरिपरि हुने गरेको विकृति, विसंगति न्यूनिकरण गर्न सबै पक्ष लागी पर्नुपर्ने साथै देशैभरी छरिएर रहेका होटल, रेष्टुरेन्ट, ब्याङ्‍केट, रिसोर्ट, लाउन्ज, क्याफे लगायतका व्यवसायिक क्षेत्रको छाता संस्था होटल व्यवसायी महासंघ नेपालले व्यवसायी र उपभोक्ताको हक हितका पक्षमा कटिवद्ध भई कार्य गर्दै आईरहेको धारणा व्यक्त गर्नु भयो ।