साना, मझौला होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघ नेपालको १२ओैं वार्षिक साधारण सभा मिति २०८१ चैत्र १६ गते खाँडादेवी ब्याङ्केट, कलंकी, काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भयो। होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री दिनेश कुमार चुके ज्यूको अध्यक्षतामा आयोजित उक्त साधारण सभा कार्यक्रमको संस्थाका संस्थापक जेष्ठ केन्द्रीय सदस्य श्री गोपी सार्की ज्यूबाट पानसमा दिप प्रज्वलित गर्नुभई शुभारम्भ गरिएको थियो। देशैभरका प्रदेश, जिल्ला र ईकाइ संघहरुबाट आउनु भएका अध्यक्ष सहितका प्रतिनिधिहरुलाई वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा (शेरु) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने महासचिव टि.आर. भण्डारी (शंकर) ले साधारण सभाको खुल्ला तथा बन्दसत्र कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कार्यक्रममा महासंघको अवधारणा सहित आफ्नो मन्तव्यमा होटल व्यवसायले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको चर्चा गर्नुहुँदै अध्यक्ष श्री दिनेश कुमार चुके ज्यूले देशभरी रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको हकहित र अधिकारको प्रत्याभूति हुने गरी आवश्यक नीति निर्माण, आपसी भाईचारा अभिवृद्धि गर्दै संगठनात्मक सुद्रिढिकरण, आचारसंहिता तर्जुमा, सरोकारवाला निकायहरुसंगको सहकार्य, देशको अर्थतन्त्रमा पुर्याएको योगदान लगायतको विषयमा धारणा प्रस्तुत गर्नु भयो। सो अवसरमा महासंघ नेपालका संरक्षक श्री अमृत बहादुर भुजेल ज्यू, सल्लाहकार श्री के.पी. पाध्य, कोशी प्रदेशका अध्यक्ष श्री राजन दंगाल, सह-आयोजक संस्था जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका अध्यक्ष श्री सुरेश बराल र जिल्लागत संघको प्रतिनिधित्व गर्दै होटल व्यवसायी संघ झापाका अध्यक्ष श्री इन्दिरा श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो।
यसैगरी बन्दसत्रमा भएको छलफलका क्रममा प्रतिनिधिहरुबाट राखिएका जिज्ञासाहरुको जवाफ सहित अध्यक्ष ज्यूले मन्तव्य राख्नु भएको थियो भने महासचिव ज्यूले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ ज्यूले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्री दिपेन सुवेदी (उमेश) ज्यूले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। मिति २०८१ चैत्र १४ गते विभिन्न मिडियाकर्मीहरुको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी महासंघ नेपालको १२औं वार्षिक साधारण सभा बारे सूचना सम्प्रेषण गरिएको थियो। ऐ. चैत्र १५ गते महासंघको सचिवालय र कार्यसमितिको पूर्ण बैठक बसेको थियो भने सोही साँझ देशभरबाट साधारण सभा सफल पार्न उपस्थित महासंघको कार्यसमिति र होटल व्यवसायी प्रतिनिधि अतिथिहरुलाई कलंकी होटल एण्ड गेष्टहाउस एशोसियसनद्वारा खादा लगाई भव्य स्वागत गर्नुका साथै लोक गायकबाट विशेष प्रस्तुति सहित विविध मनोरञ्जनात्मक सांगितिक साँझको आयोजना गरिएको थियो। महासंघका अध्यक्ष श्री दिनेश कुमार चुके ज्यूले औपचारिक रुपमा साधारण सभा कार्यक्रम समापन गर्नुहुँदै होटल व्यवसायी महासंघ नेपालको १२औं वार्षिक साधारण सभा सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्न पूर्वको ताप्लेजुङ-झापा देखि सुदूरपश्चिमको डडेलधुरा-कन्चनपुर सम्मबाट २०० जनाको संख्यामा उपस्थित महासंघको कार्यसमिति, लेखा समिति, सल्लाहकार ज्यूहरु, आवद्ध प्रदेश संघ, जिल्ला संघ र ईकाइ संघका अध्यक्ष सहित प्रतिनिधि एवम् राजधानी काठमाण्डौमा मिति २०८१ चैत्र १५ गते देखिएको विशेष परिस्थितिमा होटल व्यवसायी अतिथिहरुलाई आतिथ्यता प्रदान गर्नुहुने सहयोगी संस्था एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ गौशाला र कलंकी होटल एण्ड गेष्टहाउस एसोसियसन सहित काठमाण्डौ भित्रका सम्पूर्ण ईकाइ संघहरुका साथै प्रायोजक संस्था सुबिसु केवल नेट लिमिटेड, यती ब्रुअरी लिमिटेड, नेपाल लिक्वर्स प्रा.लि. लयायतको सहयोग प्रति महासंघ नेपाल परिवारको तर्फबाट हार्दिक धन्यवाद एवम् कृतज्ञता प्रकट गर्नु भयो।