धादिङ्गमा आतिथ्यता व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न

व्यवसायिक प्रवर्द्धन तथा सामाजिक सहकार्यको उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघ नेपालद्वारा वागमती प्रदेश स्थित नागढुंगादेखि रामनगरसम्मको हाईवे आसपास रहेका तथा नुवाकोट, गोरखा, रसुवा, तनहुँ, धादिङ्ग, चितवन जिल्लाका होटल, रेष्टुरेन्ट, ब्याङ्‍केट, रिसोर्ट, लाउन्ज, क्याफे, बेकरी सपलाई लक्षित गरि सो सँग सम्बद्ध ६५ जना व्यवसायी एवम् कर्मचारीहरुलाई बेनीघाट रोराङ गा.पा.वडा नं.७, धादिङ्गमा अवस्थित त्रिशूली रिभर बिच क्याम्पमा मिति २०८० जेष्ठ ४ र ५ गते दुईदिने “Hospitality Management Training” कार्यक्रम सभ्य एवम् भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम सफलततापूर्वक सम्पन्न गराउन सहगोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुले भोग्दै आईरहेको समस्या न्यूनिकरणका लागि महासंघ नेपालले सम्बद्ध निकायहरुसंग समन्वय र सहकार्यका लागि अनवरत रुपमा पहलता लिनुका साथै आफ्नो व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गराउन तालिम, सेमिनार, गोष्ठीहरुको सञ्चालनलाई निरन्तरता दिईने धारणा व्यक्त गर्नु भयो । उक्त तालिम कार्यक्रमको संयोजन होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वागमती प्रदेशले गरेको थियो भने जिल्ला होटल संघ धादिङ्ग र होटल व्यवसायी सघं चितवनले सहकार्य गरेको थियो ।

होटल व्यवसायी महासंघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपालको अध्यक्षतामा ऐ.४ गते शुभारम्भ भएको उक्त तालिम कार्यक्रमको उद्‍घाटन समारोहको प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया रहनु भएको थियो । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख, प्रहरी उपरिक्षक गौतम मिश्र, अतिथिहरुमा होटल व्यवसायी महासंघ नेपालका महासचिव श्री तुल्सीराम भण्डारी (शंकर), स्थान विशेषका सुरक्षा निकायका प्रमुखहरु र महासंघ नेपालका केन्द्रिय सदस्यहरु लगायतको उत्साहजनक उपस्थित रहेको थियो । उद्‍घाटन सत्रको कार्यक्रममा अतिथि लगायत तालिममा सहभागी व्यवसायीहरुलाई जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त तालिम कार्यक्रमको दोश्रो तथा अन्तिम दिन ऐ.जेष्ठ ५ गते आयोजित समापन समारोहको प्रमुख अतिथिको आतिथ्यता नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिमालले गर्नु भयो भने विशिष्ट अतिथिमा होटल ब्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके र अतिथिहरु महासंघ नेपालका महासचिव श्री तुल्सीराम भण्डारी (शंकर), केन्द्रिय सदस्यहरु सन्तोष कुमार थापा, अजय त्रिपाठी, हरिशरण पाण्डे लगायत विभिन्न ईकाइ संघका प्रतिनिधिहरु, स्थान विशेषमा रहेका सुरक्षाकर्मी एवम् पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । सो “Hospitality Management Training” मा सहभागी प्रशिक्षार्थीहरुलाई Nepal Academy of Tourism and Hotel Management का प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिईएको थियो भने प्रमुख अतिथि तथा विशिष्ठ अतिथिबाट तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण-पत्र प्रदान गरिएको थियो । होटल व्यवसायी महासंघ नेपाल वागमती प्रदेशका महासचिव राजकुमार प्याकुरेलले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।