गुल्मीमा पर्यटन र होटल व्यवसाय प्रवर्द्धनका लागि महासंघको सक्रिय पहल

गुल्मी, होटल व्यवसायी महासंघ नेपाल (HPFN) का अध्यक्ष टी. आर. भण्डारी (शंकर) को नेतृत्वमा गुल्मी जिल्लामा होटल, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

गृहजिल्ला गुल्मी पुग्नुभएका अध्यक्ष भण्डारीले होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवर, संस्थापक अध्यक्ष युवराज भण्डारी तथा कार्यसमिति सदस्यहरूसँग अन्तरक्रिया गर्दै जिल्लाको पर्यटन तथा आतिथ्य क्षेत्रको समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो।

छलफलका क्रममा पर्यटनका पर्याप्त सम्भावना हुँदाहुँदै पनि होटल तथा पर्यटन व्यवसायमा देखिएको शिथिलता, पूर्वाधार विकासको आवश्यकता, लगानी अभाव, दक्ष जनशक्तिको कमी तथा नीतिगत सहजीकरणका चुनौतीहरू प्रमुख विषयका रूपमा उठाइएको थियो। सहभागीहरूले यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न संघीय, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सञ्चारकर्मी तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए।

यस अवसरमा गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसद सागर ढकाल र गोविन्द पन्थी समक्ष व्यवसायीहरूको धारणा तथा समस्याहरू प्रस्तुत गरिएको थियो। सांसदहरूले होटल तथा पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।

अध्यक्ष भण्डारीले गुल्मीको पर्यटन विकास र आर्थिक समृद्धिका लागि तम्घाससहित जिल्लाभरका पर्यटन तथा आतिथ्य व्यवसायलाई थप चलायमान र आकर्षक बनाउन नवीन तथा व्यवहारिक कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो।

होटल व्यवसायी महासंघ नेपालले देशभरका होटल तथा पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन तथा आतिथ्य क्षेत्रको दिगो विकासका लागि निरन्तर सहकार्य र पहल गर्दै आएको उल्लेख गर्दै अध्यक्ष भण्डारीले “गुल्मीको समृद्धि पर्यटनसँग र पर्यटनको समृद्धि सहकार्यसँग जोडिएको छ” भन्ने सन्देशसमेत दिनुभएको थियो।

महासंघका अनुसार आगामी दिनमा पनि पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको सशक्तीकरण तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सरोकारवालासँग सहकार्यलाई थप प्रभावकारी बनाइनेछ।