HPFN ले विपद् राहत अभियान सञ्चालन गर्ने, राहत–सहयोग कोष स्थापना गर्ने निर्णय

होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले विपद्बाट प्रभावित नागरिक तथा व्यवसायीहरूलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले “HPFN विपद् राहत अभियान” सञ्चालन गर्ने र राहत–सहयोग कोष स्थापना गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा केन्द्रीय कार्यालय, कलंकीमा बसेको आकस्मिक बैठकले विपद्को पछिल्लो अवस्था तथा प्रभावित क्षेत्रका नागरिक र व्यवसायीलाई आवश्यक राहत, उद्धार र मानवीय सहयोग उपलब्ध गराउने विषयमा छलफल गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले महासंघसँग आबद्ध सम्पूर्ण होटल व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूलाई राहत अभियानमा यथाशक्य सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको छ। संकलित सहयोगलाई वास्तविक आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गरिने महासंघले जनाएको छ।

प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत परिचालन गरिने

महासंघले प्रभावित क्षेत्रमा आफ्ना प्रतिनिधि परिचालन गरी वास्तविक अवस्था र आवश्यकताको पहिचान, तथ्यांक तथा डाटा संकलन र राहत वितरणको प्राथमिकता निर्धारण गर्ने निर्णय गरेको छ।

यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी राहत तथा मानवीय सहयोगका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइनेछ।

राहत कोषमा पूर्ण पारदर्शिता कायम गरिने

राहत अभियानअन्तर्गत प्राप्त हुने नगद तथा जिन्सी सहयोग, खर्च र वितरणमा पूर्ण पारदर्शिता कायम गर्ने निर्णय बैठकले गरेको छ। संकलित रकम तथा सामग्रीको व्यवस्थित अभिलेख राख्नुका साथै खर्च र वितरणसम्बन्धी विवरण सार्वजनिक प्रतिवेदनमार्फत जानकारी गराइने महासंघले जनाएको छ।

सहयोगीलाई सम्मान गरिने

बैठकले राहत अभियानमा रु. १०,००० भन्दा माथि आर्थिक सहयोग गर्ने कार्यसमिति सदस्य, महासंघमा आबद्ध व्यवसायी तथा सहयोगी व्यक्तित्वहरूलाई महासंघको आधिकारिक डिजिटल पोस्टर तथा सामाजिक सञ्जालमार्फत धन्यवाद तथा सम्मान व्यक्त गर्ने निर्णयसमेत गरेको छ।

महासंघले विपद्को यस कठिन परिस्थितिमा मानवीय सेवाको भावनासहित प्रभावित नागरिक तथा व्यवसायीहरूको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ। राहत, उद्धार र पुनःस्थापनाका कार्यमा व्यवसायी समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै महासंघले सबैलाई सहयोग र सहकार्यका लागि आह्वान गरेको छ।

बैठकमा सहभागी

  • टी.आर. भण्डारी (शंकर) — अध्यक्ष, होटल व्यवसायी महासंघ नेपाल
  • ज्ञानबहादुर गजमेर — प्रशासन (संगठन) उपाध्यक्ष
  • मित्रप्रसाद ढकाल — उप–महासचिव
  • रमेशकुमार बराल — प्रशासन सचिव
  • रामचन्द्र महत — केन्द्रीय सदस्य
  • विष्णुप्रसाद घिमिरे — केन्द्रीय सदस्य
  • शैलेन्द्र विक्रम थापा — केन्द्रीय सदस्य
  • तिलक चापागाईं — केन्द्रीय सदस्य
  • रेणुका याक्सो — केन्द्रीय सदस्य
  • दामोदर नेपाल — बागमती प्रदेश अध्यक्ष
  • सुरेश बराल — अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौं
  • सूर्यबहादुर खाती — अध्यक्ष, बालाजु होटल व्यवसायी संघ
  • खगेन्द्र सापकोटा — अध्यक्ष, नेपाल गेस्ट हाउस व्यवसायी संघ, बागबजार
  • कुमार श्रेष्ठ — अध्यक्ष, कलंकी होटल एसोसिएसन
  • सरोज आले — अध्यक्ष, एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, गौशाला
  • नरेश्वर गौतम — आमन्त्रित सदस्य